अनमिन टोलीद्वारा लडाकु शिविर निरीक्षण
६ कात्तिक, झापा । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन) प्रमुख करिन ल्यान्डग्रेनसहितको टोलीले आज इलामको चुलाचुलीस्थित जनमुक्ति सेनाको प्रथम डिभिजनको निरीक्षण गरेको छ ।
काठमाडौं छाउनीस्थित सेनाको मुख्यालयमा रहेका हतियारहरुको निरीक्षणपछि पहिलो पटक अनमिनको टोलीले चुलाचुलीस्थित प्रथम डिभिजन शिविरमा रहेको हतियारको निरीक्षण गरेको हो । टोलीमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरु अमेरिका, बेलायत, फ्रान्स, जर्मन, चीनका राजदूत र जापानी राजदूतको सहभागीता रहेको छ ।
सुरक्षा परिषद्को बैठक बस्नुअघि सुरक्षा परिषद्मा सम्मिलित देशका राजदूत सहितको सो टोलीले शिविरको निरिक्षण गरेको हो । बृहत शान्ति सम्झौता अनुरुप अनमिनले माओवादी छापामार र नेपाली सेनाको हतियार अनुगमन गरेको हो । निरीक्षणको समचार सम्प्रेशण गर्न डिभिजन गेटमा पुगेका पत्रकारलाई भित्र प्रवेश गर्न दिइएको थिएन् ।
तोरणबहादुर नै कामु प्रधानसेनापति
६ कात्तिक, काठमाडौं । विवादमा परेका नेपाली सेनाका सम्भार रथी तोरणबहादुर सिंह कायम मुकायम प्रधानसेनापति नियुक्त हुनुभएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति नियुक्त गरेको हो । प्रधानसेनापति छत्रमानसिंह गुरुङले १२ औं अन्तराष्ट्रिय सेना प्रमुखहरुको सम्मेलनमा भाग लिन अमेरिका जाने भएपछि कामु सेनापति कसलाई बनाउने भन्ने बिषय अन्यौलमा थियो ।
सिंहलाई माओवादीसंगको युद्धका बेला भैरवनाथ गणबाट ४३ बन्दी बेपत्ता बनाउने क्रममा कमाण्ड जिम्मेवारीको आरोप छ । तीन महिनादेखि जंगी अड्डाले सिंहलाई बढुवा सिफारिस गरेपनि सरकारले अस्विकार गर्दै आएको छ ।
प्रधानसेनापति गुरुङले बिहीबार प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर कामु प्रधानसेनापतिमा सिंहलाई नियुक्त गर्न सल्लाह दिनुभएको थियो । प्रधानसेनापति गुरुङ कात्तिक ९ देखि १२ गतेसम्म अमेरिकामा हुने १२ औं अन्तराष्ट्रिय सेना प्रमुखहरुको सम्मेलनमा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।
रेडियो नेपालमा शुक्ल
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा तपनाथ शुक्ललाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्लले यसअघि नेपाल टेलिभिजनमा महाप्रवन्धक रहेर काम गर्नुभएको थियो ।
सिंहलाई कामु प्रधानसेनापतिको जिम्मेवारी
विभिन्न सरकारी निकायमा नियुक्ति-
काठमाडौं,
कात्तिक ६ - सरकारले नेपाली सेनाका सम्भार रथी तोरणबहादुर सिंहलाई प्रधान सेनापतिको अनुपस्थितिमा कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ। प्रधानसेनापति छत्रमानसिंह गुरुङ अमेरिका जाने तय भएपछि सरकारले सो समयका लागि सिंहलाई कामु दिने निर्णय गरेको हो। यसअघि उनलाई पदोन्नति गर्न जंगीअड्डाले रक्षा मन्त्रालयलाई सिफारिस गरे पनि उनको पदोन्नति भने हुन सकेको छैन। सिंह भैरवनाथ गणमा मानव अधिकार उलंघनका घटनामा संलग्न रहेको अरोप लाग्दै आएको छ। सरकारले बिभिन्न राजनीतिक नियुक्तिहरु गर्नुका साथै केहि योजनाहरुमा अनुमति दिने लगायतका निर्णय गरेको छ। मन्त्रीपरिषद्को सिहदरबारमा शुक्रबार बसेको बैठकले संबैधानिक निकायका पदाधिकारीलाई तलव कानु्नमा ब्यवस्था भए बमोजिम गर्न र राजनीतिक नियुक्ति गर्दा ब्यवस्थित बनाउन मन्त्रिपरिषदले अर्थमन्त्री सुरेन्द्र पाण्डेको संयोजकत्वमा एक समिति बनाएको छ।
रेडियो नेपालको कार्यकारी निर्देशकमा तपनाथ शुक्लालाई नियुक्ति गर्ने निर्णय गरेको छ। सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले समाज कल्याणपरिषद्को सदस्य सचिवमा सन्तोष पाण्डेलाई नियुक्ति गरेको जानकारी बैठक पछि दिए जानकारी दिए।
परिषद्का तत्कालीन सदस्य सचिव र कोषाध्यक्षलाई मुद्दा किनारा नलागेसम्म पदमा बहाल गराइरहन सर्वोच्चले दिएको आदेशको बर्खिलाप सरकारले परिषद्को सदस्य सचिवमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो।
कात्तिक १५ सम्म माओवादी अल्टिमेटम
६ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीले सरकारलाई कात्तिक १५ गतेभित्र माग पूरा गराउन अल्टिमेटम दिएको छ ।
पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको माओवादी स्थायी समितिको बैठकले १५ गतेभित्र माग पूरा नभए शसक्त
आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । माओवादीले सरकारी कार्यालयलाई लक्षित गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने शर्माले जानकारी दिनुभयो । आन्दोलनको स्वरुप सरकारी कार्यालयहरुमा धर्ना, घेराउ र अवज्ञात्मक आन्दोलन हुने उहाँले बताउनुभयो ।
राष्ट्रपति डा. रामवरण यादवले तत्कालिन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई थमौति गरेपछि सरकार छाडेर नागरिक सर्वोच्चताको नाममा आन्दोलन गर्दै आएको माओवादीले एक साताभित्र सहमतिमा आउन सरकारलाई अल्टिमेटम दिएको हो । नेपाली कांग्रेसले राष्ट्रपतिलाई लान्छाना लगाउन नदिने अडान लिएपछि पटक-पटक भएका सहमतिका प्रयास असफल हुँदै आएका छन् । माओवादी आन्दोलन टुङ्ग्याउँदै जारी संसद अवरोध हटाउने बिषयमा सहमति जुटाउन माओवादीका देव गुरुङ, कांग्रेसका अर्जुन नरसिंह केसी र एमालेका युवराज ज्ञवाली रहेको कार्यदल बनाइएको छ ।
विहीबार बसेको माओवादी स्थायी समिति बैठकले आजको बैठकबाट आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरेको थियो । आजको बैठकमा आन्दोलन बाहेक, पार्टीको रणनीति, राजनीतिक सहमतिका लागि थप प्रयास लगायतका विषयमा पनि छलफल भएको माओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
सदन चल्न नसकेर बजेट पारित नभए माओवादी जिम्मेवार हुने भन्ने चर्चा चलिरहँदा प्रवक्ता शर्माले राष्ट्रपतिको कदमका विषयमा छलफल हुने भए एक मिनेट भित्रै सदन खोलिदिने बताउनुभयो । सदन खोल्ने वातावरण सत्ताधारी दलहरुले नबनाएको हुनाले त्यसको दोष पनि उनीहरुलाई नै जाने उहाँले बताउनुभयो ।
कोइराला फेरि अस्वस्थ्य
कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला आज फेरि अस्वस्थ्य हुनुभएको छ ।
अस्वस्थ्य भएपछि केही दिनयता राजनीतिक भेटघाटमा समेत देखिन छाड्नुभएका कोइरालाको छातीमा सामान्य समस्या देखिएको छ । कोइरालाले आजै राजधानीको नक्सालस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गर्नुभएको थियो ।यसअघि चिकित्सकहरुको टोलीले आजै कोइरालाको स्वास्थ्य गरेका थिए ।
कुटनीतिक अधिकारीसहितको अनमिन टोलीद्वारा सैनिक व्यारेकको निरीक्षण
काठमाडौ, २०६६ कार्तिक ६ - राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य पाँच मुलुकका कुटनीतिक अधिकारीसहित अनमिन प्रमुख करिन लेनग्रेनले नेपाली सेनाको छाउनीस्थित व्यारेक तथा हतियार भण्डारण गरिएका कन्टेनरको निरीक्षण गरेका छन् ।लेनग्रेनसंगै निरीक्षणमा बेलायत र पmान्सका राजदूत, अमेरिका र रुसका डेपुटी चिफ अफ मिसन तथा चिनीय राजदूतावासका प्रथम सचिव थिए । सैनिक प्रबक्ता सहायकरथी रमिन्द्र क्षेत्रीका अनुसार उनीहरुले बिहान साँढे ८ बजेदेखि ९ बजेसम्म करिव आधा घण्टा निरीक्षण भ्रमण गरेका थिए ।
माओवादी सेनाको विभिन्न शिविरहरुका कन्टेनरमा राखिएको बराबर नेपाली सेनाका हतियार छाउनीस्थित व्यारेकमा भण्डारण गरिएको छ । शान्ति सम्झौता अनुसार माओवादीको हतियार जस्तै सेनाको हतियार भण्डारण गरिएको कन्टेनरको साँचो सेनासंगै रहेको छभने अनमिनका हतियार निरीक्षकहरुले २४ घण्टे अनुगमन गर्दछन् ।
आउँदो नोभेम्वर ६ तारिखमा सुरक्षा परिषद्ले नेपालको शान्ति प्रकृया र अनमिनको कामको सम्बन्धमा मध्यवधी मुल्यांकन गर्दैछ । त्यसका लागि प्रतिवेदन तयार पार्ने क्रममा लेनग्रेनले राजनीतिक नेताहरुसंगको भेटघाट तथा निरीक्षणलाई तिब्रता दिएका छन् । बिहीबार उनले प्रधानमन्त्री माधव नेपाल, सञ्चारमन्त्री शंकर पोख्रेललगायतलाई भेटेका थिए ।
ति पाँच मुलुकका कुटनीतिक अधिकारीहरु, अनमिन प्रमुख लेनग्रेत तथा हतियार अनुगमनकर्ताहरुको टोलीले शुक्रबार दिउँसो माओवादीको इलामको चुलाचुलीस्थित मुख्य शिविरको पनि निरीक्षण भ्रमण गर्दैछन् । भ्रमणमा टोलीले शिविरको व्यवस्थापन, हतियारको भण्डारणलगायतको निरीक्षण गर्नेछ ।
हतियारधारी समुहद्वारा कृषक अपहरित
६ कात्तिक, सप्तरी । अज्ञात हतियारधारी समुहले आज बिहान सप्तरीको मलेकपुरबाट एक कृषकलाई अपहरण गरेका छन् ।करिव ७ जनाको संख्यामा आएका नचिनेका मान्छेको समुहले घरमा सुतिरहेका मलेकपुर गाबिस ३ का ५० वर्षिय राजदेव मण्डललाई बिहान २ बजे घरबाटै अपहरण गरेको हो । अपहरण कसले किन गरेको खुल्न सकेको छैन । अपहरणको खबर पाएलगत्तै मण्डलको खोजीकालागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।यसैबीच छोराको शकुशल रिहाईको पहल गरिदिन पीडितका बयोबृद्ध बुबा रामेश्वर मण्डलले अधिकारकर्मी तथा सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
माओवादीले आन्दोलनका कार्यक्रम सार्बजनिक गर्दै
६ कार्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीले आज आन्दोलनका थप कार्यक्रम सार्बजनिक गर्ने भएको छ । दलहरुबीचको पटक पटकको छलफलबाट पनि आफ्नो माग पूरा हुने संकेत नदेखिएपछि माओबादीले आन्दोलनका थप कार्यक्रम सार्बजनिक गर्ने भएको हो ।विहान ११ बजेपछि कोटेश्वरको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने स्थायी समिति बैठकले आन्दोलनको स्वरुप र कार्यक्रमहरु तय गर्ने सो पार्टीले जनाएको छ ।विहीबार बसेको स्थायी समिति बैठकले आजको बैठकबाट आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरेको थियो ।
आजको बैठकमा आन्दोलन बाहेक, पार्टीको रणनीति, राजनीतिक सहमतिका लागि थप प्रयास लगायतका विषयमा पनि छलफल हुने एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
सरकारले बर्खास्त गरेका प्रधानसेनापतिलाई थमौति गर्ने राष्ट्रपतिको असंवैधानिक कदम सच्चीनुपर्ने र नागरिक सर्बोच्चता कायम हुनुपर्ने माग गर्दै एकीकृत माओवादीले सडक र सदनबाट आन्दोलन गर्दै आएको छ ।
राष्ट्रपतिको कदम नसच्चिए राजनीतिक सहमति हुन नसक्ने माओवादी नेता गजुरेलको दावी
एकिकृत नेकपा माओवादीका सचिव सिपि गजुरेलले राष्ट्रपतिको कदम नसच्चिएसम्म राजनीतिक निकास ननिस्कने बताउनुभएको छ। उहाँले नागरिक सर्वोच्चता स्थापना नभएसम्म आन्दोलन जारि रहने बताउनुभयो। एकिकृत नेकपा माओवादी इलामले आज आयोजना गरेको एक कार्यक्रममा नेता गजुरेलले राष्ट्रपतिको कदम नसच्चिएसम्म कुनै विषयमा पनि सहमति हुन नसक्ने बताउनुभयो। नेकपा एमाले र नेपाली काग्रसले नयाँ संविधान बनाउन नसक्ने बताउँदै नेता गजुरेलले माओवादीको नेतृत्वमा बन्ने सरकारले मात्र नयाँ संविधान बनाउन सक्ने दाबि गर्नुभयो। आठ महिनामा नयाँ संविधान नबनेमा जनताले जनबिद्रोह गर्ने भन्दै नेता गजुरेलले त्यसको नेतृत्व एकिकृत नेकपा माओवादीले गर्ने बताउनुभयो।।
अव बन्ने संविधानमा आर्थिक स्वतन्त्रताको हकलाई मौलिक हक बनाईनुपर्ने नेउवा संघका केन्द्रिय उपाध्यक्ष भाष्करराज राजकर्णिकारको भनाइ
नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय उपाध्यक्ष भाष्करराज राजकर्णिकारले अव बन्ने संविधानमा आर्थिक स्वतन्त्रताको हकलाई मौलिक हक बनाईनुपर्ने बताउनुभएको छ।बर्दिया–गुलरिया उद्योग वाणिज्य संघको १६ औं साधारण सभाको उदघाटन गर्दै उपाध्यक्ष कर्णिकारले नेपालका उद्योगी, व्यवसायीका प्रतिनिधिले राजनैतिक दल र सभाषदसँग परामर्श गरिसकेको जानकारी दिनुभयो।
कार्यकममा बर्दिया जिल्लावाट एस.एल.सी. परिक्षामा सर्वाधिक अकं ल्याउने छात्र, छात्राहरुलार्इं नगद र प्रमाण पत्र समेत वितरण गरिएको थियो। सभामा केन्द्रिय सदस्य टुमड दुगड, उद्योग वाणिज्य सघं गुलरियाका अध्यक्ष राजेन्द्र प्रसाद कडेल, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु र उद्योग वाणिज्य सघं सुर्खेत, राजापुर, टिकापुर, कोहलपुरका अध्यक्ष एवं प्रतिनिधिहरुले मन्तव्य राखेका थिए।।





